नेपालले टी–२० विश्वकपअन्तर्गत समूह चरणका सबै खेलहरु मुम्बईको वानखेडे रंगशालामा खेल्दै छ । यो रंगशालाको पीच सामान्यतया ब्याट्सम्यान मैत्री मानिन्छ ।
वानखेडे रंगशाला सन् १९७४ मा निर्माण गरिएको हो । करिब ३३ हजार दर्शक क्षमताको यो मैदान भारतका सबैभन्दा चर्चित क्रिकेट भेन्यूमध्ये पर्छ । सन् २०११ को एकदिवसीय विश्वकप फाइनल यही मैदानमा जित्दै भारत विश्व च्याम्पियन बनेको थियो । त्यसयता पनि अन्तर्राष्ट्रिय क्रिकेटमा वान्खेड़ेको पहिचान हाइ स्कोरि स्कोरिङ मैदानका रूपमा स्थापित छ ।
वानखेडेको पिचमा बल राम्रोसँग ब्याटमा आउने, उछाल स्थिर हुने र आउटफिल्ड छिटो भएकाले रन बनाउन सजिलो हुने गर्छ । यद्यपि खेलको सुरुवाती ओभरहरूमा भने फास्ट बलरले गति र बाउन्सको सहयोग पाउने गर्छन् । ध्य ओभरतिर पिच सम्हालिँदै जाँदा स्पिनरले पनि केही भूमिका खेल्न सक्छन्, तर यो मैदानमा स्पिनभन्दा फास्ट बलिङ बढी प्रभावकारी देखिएको इतिहास छ । विशेषगरी डेथ ओभरमा गल्ती गरे बलरहरू भारी रन खर्चिन बाध्य हुन्छन् ।
वानखेडेमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पारीको औसत स्कोर करिब १७५–१८० रन रहँदै आएको छ । दोस्रो पारीको औसत स्कोर भने करिब १५५–१६० रन छ । यसले दुई सय रन नजिकको स्कोरलाई प्रतिस्पर्धात्मक मात्र होइन, कहिलेकाहीँ असुरक्षितसमेत बनाउँछ । यहाँ सर्वाधिक २३० रनको लक्ष्य चेज भएको र न्यूनतम १४३ रन डिफेन्ड भएको इतिहास छ । यो मैदानमा थुप्रै भिमकाय स्कोर बनेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उच्चतम टिम स्कोर २४७ रन हो, जुन घरेलु टिम भारतले बनाएको थियो । गत वर्षको फेब्रुअरीमा ईंग्ल्यान्डसँग खेल्दै भारतले ९ विकेट क्षतिमा २४७ रन बनाएको थियो । सबैभन्दा न्यून स्कोर चाहिँ श्रीलंकाले भारतविरुद्ध २०१७ मा बनाएको १३५ रन हो । आईपीएलमा त यस रंगशालामा २३० भन्दा माथिका स्कोरहरू सामान्य लाग्छन् । यहाँ १८० रनको लक्ष्य पनि सुरक्षित मानिँदैन ।
वान्खेडेमा खेलिने अधिकांश साँझका खेलमा ओस (ड्यू) ठूलो कारक बन्ने गर्छ । दोस्रो पारीमा बल चिप्लो हुने, स्पिन र कट–स्विङ कम हुने भएकाले चेज गर्ने टोलीलाई फाइदा पुग्ने तथ्यांकले देखाउँछ ।
यही कारण यहाँ टस जितेर दोस्रो ब्याटिङ रोज्ने प्रवृत्ति बलियो देखिन्छ । पहिलो ब्याटिङ गर्ने टोलीले दबाब सिर्जना गर्न कम्तीमा १८०–१९० रन बनाउनु पर्ने अवस्था रहन्छ ।
नेपालका लागि कति अनुकूल ?
नेपाली टोलीका लागि वानखेडे अनुकूल मैदान होइन । नेपालको मुख्य शक्ति भनेको स्पिन बलिङ हो, जुन यहाँ धेरै प्रभावकारी नहुन सक्छ । यद्यपि, नेपालको ब्याटिङ चलेको खण्डमा अवसर पनि छ ।
नेपालका फास्ट बलरहरूले नयाँ बलमा अनुशासन कायम गर्न सकेमा सुरुवाती विकेट लिन सक्ने सम्भावना रहन्छ । ब्याटिङतर्फ भने स्ट्राइक रोटेटसँगै सीमित बलमा आक्रमक खेल आवश्यक हुन्छ । सानो सीमाना र छिटो आउटफिल्डका कारण डट बलको दबाब खतरनाक बन्न सक्छ । त्यसैले नेपालले यहाँ रक्षात्मक होइन, योजनाबद्ध आक्रमक क्रिकेट खेल्नुपर्ने हुन्छ ।
नेपालको समूहमा ईंग्ल्यान्ड सबैभन्दा बलियो टिम हो । अन्य ३ टिमहरुसँग नेपालले जितको लक्ष्यसहित खेल्नेछ । यदि टिमवर्कसहित खेलेमा नेपालले सुपर ८ मा स्थान बनाउने आशा राख्न सकिन्छ । सुपर ८ मा पुगेको खण्डमा भने नेपालको भेन्यू परिवर्तन हुनेछ ।


