NRN

purna_b_khadka-1686724891.jpg
काठमाडौ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने पक्षमा नरहेको उनीनिकट नेताहरूले बताएका छन्। 

निवर्तमान सभापति शेरबहादुर देउवाको जोडबलका कारण मात्र उनको समूह सर्वोच्च अदालतमा रिट लिएर गएको हो।

‘पूर्णबहादुर दाइले स्पष्ट रूपमा अदालत नजाऔं भनेर धेरै जोडबल गर्नुभएको हो तर देउवा र उहाँनिकट केही नेताहरूले अदालत जानैपर्ने अड्डी लिए,’ एक नेताले भने। अदालत जान हुन्न भन्ने पक्षमा खड्कासहित रमेश लेखक, श्यामकुमार घिमिरे लगायतका नेता पनि थिए। तर खड्काले भने बलियोसँग अदालत जान हुन्न भन्ने अडान नै राखेका थिए। 

‘विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई विस्तार गरेर जान सकिन्छ, बरू त्यसतर्फ कुरा गरौं। कम्युनिष्ट पार्टीहरूको केन्द्रीय समिति पनि ठूलो छ भन्ने धारणा पनि आएको थियो,’ अर्का एक नेताले बताए।

अब आफ्नो चाहना नहुँदा नहुँदै विशेष महाधिवेशनबाट आएको कार्यसमितिविरूद्ध अदालतमा मुद्दा गएपछि आफू नैतिक हिसाबले यो चुनावमा उठ्न नमिल्ने धारणा खड्काले आफ्नो समूहमा राखेका छन्।

अदालतमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको नाममा वारेसमार्फत् मुद्दा दिएका थिए।

खड्काले आफू चुनावमा नलड्ने भए पनि अरूलाई पार्टीमा मिलेर चुनाव लड्न र आफ्नै हिसाबले नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिसँग कुरा गर्न भनेको पनि ती नेताले जानकारी दिए। 

खड्काले अदालत जानु हुन्न भने पनि देउवाले जानुपर्ने र अन्तरिम आदेश लिनुपर्ने कुरा राखेका थिए। ‘त्यसपछि 'बेखुस' हुँदाहुँदै पनि पूर्ण दाइ अदालतमा जानुभएको थियो,’ ती नेताले भने।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिएको विरोधमा देउवा पक्ष अदालतमा रिट लिएर गएको थियो।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।

कांग्रेसले संसदीय बोर्ड बैठक गरी उम्मेदवार तय गर्दैछ। निवर्तमान सभापति देउवानिकट नेताहरूलाई पनि टिकट दिने तयारी रहेको नेताहरूले जनाएका छन्। सभापति देउवाले भने टिकट पाउने सम्भावना न्यून छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update