NRN

Nepali-Congress-1764597343.jpg
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते दिउसो १२ बजेसम्म गर्ने निर्णय गरेको छ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरण 'सिष्टम लक' गर्ने निर्णय गरेको हो।

साथै नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा पुस ९ गते सिष्टम लक गरिनेछ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली 'स्नेही' ले नवीकरण पुस ९ गते मध्याह्न र नयाँ वितरण पुस १० गते लक गरिने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।

‘नवीकरणका सन्दर्भमा पुस ९ गते मध्याह्न १२ बजे सिष्टम लक हुन्छ, अपराह्न ४ बजे बैठक राखेर छलफल गरी प्रमाणित गरेर हामी पार्टीलाई बुझाउँछौं,’ उनले भने, ‘नयाँ क्रियाशीलका सन्दर्भमा पुस १० गते सिष्टम लक हुन्छ र बैठक गरेर पार्टीलाई बुझाउँछौं।’

विदेशस्थित जनसम्पर्क समितिमा जनसम्पर्क सदस्यता, नवीकरण वा नयाँ क्रियाशील कसैले नपाएको खण्डमा केन्द्रीय कार्यालयमा सम्पर्क गरेर वेबसाइटबाट लिन सकिने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए।

कांग्रेसले यसपालि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणलाई खुकुलो बनाएको छ। मातहत समितिमा कसैले क्रियाशील सदस्यता नपाए सिधै केन्द्रीय कार्यालयले पनि दिन सक्नेछ। 

 

कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुनेछ। त्यसअघि विभिन्न चरणका अधिवेशन हुनेछन्। वडा अधिवेशन पुस १६ गते देशैभर हुने कार्यतालिका छ।

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण तथा यसमाथि उजुरी परेर हुने छानबिन नसकिएकोले मातहत तहका अधिवेशन कार्यतालिका हेरफेर गर्नेबारे छलफल चले पनि कुनै निष्कर्षमा कांग्रेस पुगेको छैन।

 

महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताइरहेका छन्।

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका थिए। त्यसअनुसार पुस २९ गतेभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ।

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनका पक्षमा छैनन्। उनीहरूले नियमित महाधिवेशन कार्यतालिकामै जोड दिएपछि मंसिर १५ को केन्द्रीय समितिले १५ औं महाधिवेशन कार्यतालिका ल्याएको थियो।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update