NRN
एमाले महाधिवेशन : ओली पक्ष आक्रामक,  रणनीतिमा ईश्वर प्यानल

 काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रावधिक कारणले मतदान सुरु हुँदा दिउँसो चार बज्न सक्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले भने मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर प्रतिस्पर्धामा रहेका छन् । ओली र पोखरेल प्यानलसहित प्रतिस्प्रर्धामा रहेका हुन् । ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल र ईश्वर प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् ।

मतदानस्थल भृकुटीमण्डपमा बिहान देखि नै नेता/कार्यकर्ताहरू उपस्थित छन् । उम्मेदवारका पक्षधर नेता/कार्यकर्ताहरू प्रचारमा रहेका छन् ।

नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनुअघि केपी शर्मा ओली पक्षका नेताहरुले महाधिवेशन स्थलमा आक्रामक प्रचार गरिरहेका छन् । ईश्वर पोखरेल समूह भने फिल्डमा सुस्त देखिन्छ ।

नेताहरूका अनुसार ईश्वर पोखरेल समूह फिल्डमा कम देखिएता पनि भित्री रणनीतिमा रहेको छ ।खासगरी एमालेको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग ईश्वर समूह संवादमा छ ।

नेता रघुजी पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उम्मेदवारी दिएका हुन् ।

ओली प्यानलबाट पदाधिकारीका आकांक्षीद्धय अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्रै राखिएको थियो । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।प्रधानमन्त्री रहेका बेला ओलीको विज्ञ सल्लाहाकार भएर समेत खरेलले काम गरेका थिए ।  उनी कानुनमन्त्री पनि बनेका थिए ।  उनले केपी ओलीले संसद् विघटन गरेको बेलामा महान्यायाधिवक्ताको रुपमा गलत हुने भित्रि सल्लाह दिएका थिए ।

कृष्णगोपाल श्रेष्ठ पनि ओली प्रधानमन्त्री हुँदा उनको मन्त्रिपरिषद्मा रहेर काम गरेका व्यक्ति हुन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका बेला २०७८ सालमा त्रिवि दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले ओलीको प्रशंसा गर्दै फुटबलको खेलाडी पेलेसँग तुलना गरेका थिए ।

ओली प्यानलबाट पदाधिकारीका अर्का आकांक्षी थिए- नेता लालबाबु पण्डित । तर, उनी प्यानलमा परेनन् त्यसपछि उनले सचिव पदमा उम्मेदवारी दिए । ओली प्यानलमा नपरेपछि भीम आचार्यले पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update