पुर्ख्यौली घर काठमाडौँ भएका बेलायत बसोबास गर्ने एक नेपालीलाई ७ बालिका र १ महिलालाई यौन शोषण तथा बलात्कार गरेको कसुरमा त्यहाँको अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बेलायतको पिटरबरो क्षेत्रमा बसोबास गर्ने ४९ वर्षका प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले यौन अपराधमा २५ वर्षको काराबासको फैसला गरेको हो।
सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। त्यसपछि थप सात जना पीडित खुलेका थिए।
पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिए; त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो। सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन्। धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन्।
क्याम्ब्रिज क्राउन कोर्ट न्यायाधीश मार्क बिसपले सोमबार (डिसेम्बर १) मा ढकालविरुद्ध २५ वर्ष कैद र थप ८ वर्ष 'विस्तारित लाइसेन्स अवधि' (रिहा भए पनि कडा निगरानी) को सजाय सुनाएका हुन्। ढकाल केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए।


