मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनःसंरचना गर्न समिति गठन गरेको छ ।
नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको हो ।
गठित समितिलाई ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति २०८२’ नाम दिइएको छ ।
नेपाल लेखामान बोर्डका पूर्व अध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन् । त्यसबाहेक समितिमा नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहनेछन् ।
समितिलाई ५० दिनको कार्यादेश दिइएको छ । जसमा नेप्सेको वर्तमान संरचना, कार्य प्रणाली र प्रविधिमा आवश्यक सुधारका विषयमा विस्तृत अध्ययन गरी ठोस सुझावसहितको प्रतिवेदन पेश गर्नु पर्नेछ ।

