नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि सूचना टाँसेर सारिएको हो ।
आज दिउँसो २ बजे बस्ने भनिएको बैठक पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै मङ्सिर ६ गते शनिबार दिउसो १ बजेसम्मका लागि स्थगित हो ।
गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।
त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए । त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो ।
कार्यवाहक सभापति खड्काले गरेका प्रयासले सोमबारसम्म पनि कुनै काम नगरेपछि बैठक एकैपटक मंसिर ४ गते बिहीबारसम्मका लागि सारिएको थियो ।

