NRN
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन कार्यसम्पादन समिति बोलाइएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । बैठकको एजेण्डा महाधिवेशनका सन्दर्भमा रहेको विवाद समाधानका उपाय खोज्ने रहेको छ ।

पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यस्तै, सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।

थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतलिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन ।

विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update