आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ ।
यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् । निर्वाचन आयोगले मतदातालाई सहजता प्रदान गर्न यस्तो व्यवस्था गरेको हो ।
यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि बृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।
छलफलको क्रममा आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागिएको जानकारी गराएको थियो ।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ ।
यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् ।
छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहितका अधिकारीहरू थिए ।

