NRN
परराष्ट्रमा हाजिर गर्नेगरी बोलाइएका ११ राजदूतमध्ये चार जनाले दिए राजीनामा

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाएका ११ राजदूतमध्ये चार जनाले राजीनामा दिएका छन् । 

उनीहरूले परराष्ट्र मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् । उनीहरूको राजीनामा स्वीकृत भने भएको छैन । 

राजीनामा दिनेमा बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि राजदूत कृष्णप्रसाद ओली, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल र अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी रहेका छन् ।

सरकारले कात्तिक २० गतेभित्र नेपाल फर्कन भनेका राजदूतमध्ये रसियाका लागि नेपाली राजदूत मात्र स्वास्थ्यका कारण फर्किएका छैनन् ।

सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो।

उनीहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०८१ साउन १४ गते मन्त्रिपरिषद् बैठकमार्फत राजदूत नियुक्त गरेका थिए ।

परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक १७ गते ११ देशका नेपाली राजदूतलाई कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी बोलाउने निर्णय गरेकी थिइन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update