श्रममन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन् ।
अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनार आज काभ्रे अदालतमा बयानका लागि हाजिर भएका हुन् ।
सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो ।
गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।
कानुन व्यवसायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस हुनसक्ने सम्भावना छ ।
सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।


