
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन् ।
भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल गरेका हुन् ।
‘नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरीरहदा हामीले इतिहासको पनि वेवस्ता र अपमान कदापी गर्नु हुन्न । पार्टीका नेताहरु जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरुसँगै थियौं,’ भट्टराईले भनेका छन्, ‘यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरुको सम्मान सहितको पुनर्गठन पहिलो शर्त हो ।’ फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरीरहदा जबरजस्ती वर्तमान मुल नेतृत्वप्रतिको प्रहारको रुपमा कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ ।’
भट्टराईले असल मनसयले प्रयासहरु जारी राखिएपनि सब ठिकठाक थिएन भन्ने पुष्टी २३ भदौले गरेको भन्दै माफी समेत मागेका छन् ।