
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिस सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिएसँगै कांग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलले पनि पुष्टि गरेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।
उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न दिएको सुझावअनुसार समर्थन फिर्ता लिइएको जानकारी दिए ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारबाट करिब १६ महिनापछि कांग्रेस बाहिरिएको हो । यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । २८ भदौमा जनमत पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारबाट बाहिरिएको थियो ।
चार दलीय गठबन्धनको सरकारलाई दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।