_WiownIFpTA-1758264429.jpg)
प्रधानमन्त्री सुशीला कार्कीले कुनै शासकीय आकांक्षा बोकेर आफू प्रधानमन्त्री नभएको बताएकी छन् ।
टुँडिखेलमा आयोजित संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफूले कुनै शासकीय आकांक्षा र पदको लालसा लिएर प्रधानमन्त्री नभएको बताएकी हुन् ।
'देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ,' उनले भनिन् ।
उनले नागरिकले अपेक्षा गरेअनुसारको काम गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
'अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिवद्ध छ,' उनले भनिन् ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न प्रधानमन्त्रीले आव्हान गरिन् ।