
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन् ।
उनले सरकारको कदमले आफूलाई ‘अपराधबोध’ भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन् ।
धादिङ २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी गत असार ३१ गते कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए ।
मन्त्री अधिकारीले भनेका छन्–लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।
स-साना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात देशलाई नै शोकाकूल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।