NRN
पूर्व राष्ट्रपति भण्डारीको आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा

एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् । 

भण्डारीले बिहीबार काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी हुन् । उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गरेकी छन् । 

कार्यालयको उद्घाटनका लागि ईश्वर पोखरेल, युवराज ज्ञवाली, कर्ण थापालगायत एमालेका केन्द्रीय नेताहरू पुगेका छन् ।

‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिए पनि उक्त कार्यालयमार्फत भण्डारीले आफ्ना गतिविधि सञ्चालन गर्ने भण्डारी निकटस्थहरूले बताएका छन् । 

मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने विद्या संरक्षक छन् । यसअघि भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको थियो ।

युवा नेता प्रकाश गौतमका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update