
हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गरेका छन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले त्यहाँका राष्ट्रपति र संसद् अध्यक्षसँग भेट गरेका हुन् । विपिनको रिहाइका लागि पहल गर्न गत साउन २६ गते इजरायल पुगेका हुन् ।
भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् । बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाई विद्यार्थीका रुपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् ।
सो क्रममा राजदूत पण्डितले विभिन्न तवरबाट पहल गरेर जोशीको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोशिस भइरहेको जानकारी गराए ।
जोशी रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेलअभिभमा प्रदर्शन गरेका थिए । इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा प्लेकार्डसहित सहभागी भएका थिए ।
कञ्चनपुरका विपिन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।