NRN
नेपाल तरुण दलले सार्वजनिक गर्यो पाँचौँ महाधिवेशनको कार्यतालिका

नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । 

अध्यक्ष विद्वान गुरुङले पार्टीबाट अनुमोदन भई कार्यसमितिलाई प्राप्त भएको महाधिवेशनको कार्यतालिका सबै जिल्ला समितिहरूमा पठाएका हुन् ।

कार्यतालिका अनुसार भदौ १५ गते भित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्नुपर्नेछ ।

कार्तिक २० गते भित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने र कार्तिक मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, मंसिर १० गते भित्र सातै प्रदेशको अधिवेशन गर्ने र मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने पत्रमा उल्लेख छ ।

जिल्ला अधिवेशनको तयारीमा रहेका जिल्लाहरूले केन्द्रसँग समन्वय गरी कार्यतालिका भन्दा अगावै जिल्ला अधिवेशन गर्नसक्ने पनि जनाएका छन् ।

गत चैतभित्र कांग्रेसले १३ भ्रातृ संस्थालाई महाधिवेशन गर्न भने पनि ५ भ्रातृ संस्थाले मात्रै महाधिवेशन गरेका थिए । नियमित महाधिवेशन नभएका भ्रातृ संस्थामा कांग्रेसले अधिवेशन गराउन भन्दै तदर्थ समिति गठन गरेको छ । तर पटक–पटक म्याद थप गर्दा पनि महाधिवेशन हुन सकेको छैन । 

गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिम पटक म्याद दिइएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update