
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन् ।
इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्र मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीहरूको कडा आलोचना गर्दै उनीहरूसँग कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन् ।
शाहीले विशेषगरी विपिन जोशीका आमा र बहिनीको बिचल्ली भएको अवस्थाप्रति सरकारको उदासीनता र निष्क्रियताप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले परराष्ट्र मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई पदमा बसिरहने कुनै औचित्य नरहेको जिकिर गरेका छन् ।