
वाणिज्य बैंकहरूले भदौको लागि ब्याजदर प्रकाशित गरेका छन् ।
२० वटा वाणिज्य बैंकमध्ये ८ वटाले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर राखेका छन् । एउटाले भने ब्याजदर बढाएको छ ।
नियामकीय प्रावधानअनुसार बैंकहरुले हिजो साउन ३१ गते भदौमा लागू हुने ब्याजदर सार्वजनिक गरेको थियो ।
व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, नेपाल एबीआई बैंक, सानिमा बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक छन् ।
भदौका लागि ब्याजदर घटाएर स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५.१३ प्रतिशत, सिद्धार्थ, ५.५० प्रतिशत, नेपाल एसबीआई बैंकले ५.२५ प्रतिशत, सानिमा बैंकले ६.७५ प्रतिशत, कुमारी बैंकले ५.२१ प्रतिशत, एभरेष्ट बैंकले ५.७५ प्रतिशत, कृषि विकास बैंकले ५.२० प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत कायम गरेका छन् ।
यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । यो बैंकले साउनमा ५.५० प्रतिशत ब्याज दिएकोमा भदौमा बढाएर ६ प्रतिशत कायम गरेको छ ।
ब्याजदर स्थिर राख्नेमा नेपाल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । साउनमा नेपाल बैंकले ५.४० प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनआईसी एसिया बैंकले ६.२५ प्रतिशत, एनएमबी बैंकले ६ प्रतिशत र प्राइम कमर्सियल बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका थिए । सोही ब्याजदरलाई यी बैंकले भदौका लागि निरन्तरता दिएका छन् ।
उता राष्ट्रियस्तरका अधिकांश विकास बैंकले साउनकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन् । हालसम्म प्राप्त ४ वटा गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले साउनकै ब्याजदरलाई भदौमा निरन्रता दिएका छन् ।
साउनमा गरिमाले ६.११ प्रतिशत, मुक्तिनाथले ६.२५ प्रतिशत, कामना सेवाले ६.१५ प्रतिशत र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका थिए । सोही ब्याजदरलाई यी बैंकहरुले भदौका लागि निरन्तरता दिएका छन् ।