
पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ७४ जिल्लामा डेंगुका केसहरू देखिएका छन् ।
सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।
ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ ।
सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।