NRN
रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा बुझाएका छन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् ।

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो ।

त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका थिए । त्यही घोषणाअनुसार उनले बुधबार राजीनामा पत्र सभामुख घिमिरेलाई बुझाएका हुन् ।

कांग्रेसले खतिवडालाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो । खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update