
बुधबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा बन्द भएको हाे ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ६ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७५ करोड रूपैयाँ कमी आएको हो । आज ३२१ वटा धितोपत्रको एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ । यस्तै, एक कम्पनी स्थिर रहेको छ ।
यसदिन मायाखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ५.७४ प्रतिशतले बढेको छ । यस्तै, सानिमा लार्ज क्याप फण्डको मूल्य ४.३२ प्रतिशतले बढेको छ ।
१२.२५% केबिएल डिबेन्चर २०८६ को मूल्य सर्वाधिक ९.४८ प्रतिशतले घटेको छ । यसैगरी, सिक्लेस हाइड्रोपावरको मूल्य ७.२२ प्रतिशतले घटेको छ ।
बुधबार बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको छ ।