NRN
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ । श्रेष्ठ र यादवबिच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको हाे । 

पूर्वउपप्रधानमन्त्रीद्वयको भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्नुपर्ने विषयमा पनि विचार विमर्श भएको बताइएको छ । 

साथै, सङ्घर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रित गरिएको बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update