
पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त, गौशालाले शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको हो । काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई शुक्रबार आर्यघाटमा जलाउँदै गर्दा उक्त घटना भएको हो ।
पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । काठमाडौँ प्रहरी परिसरका अुनसार पक्राउ परेका उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान थालिएको छ ।
काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् ।
मृतकका परिवारजनले नै आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार, घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेका थिए ।
सोही क्रममा मृतकका परिवार र आरोपीहरूबीच विवाद र भनाभन भएको थियो । तत्कालै परिवारले गौशाला प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेका छैनन् । जसकारण अहिल्यै आरोप पुष्टि हुने खालेका प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ ।