
भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भएका छन् ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् । एक वर्षकोबीचमा उनको यो दोस्रो नेपाल भ्रमण हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समकक्षी नरेन्द्र मोदीको निम्ता लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् ।
अघिल्लो वर्ष साउन तेस्रो साता उनी नेपाल आएका थिए । त्यसबेला ओली प्रधानमन्त्री बनेको एक महिना भएको थियो ।
भ्रमणका क्रममा मिस्रीले भारतीय प्रधानमन्त्री मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । मिस्रीको भ्रमणका क्रममा दुई देशबीच प्रधानमन्त्रीको भारत भ्रमणका सम्भावित कार्यसूची, समझदारी, सम्झौता र हस्ताक्षर गर्न सकिने दस्तावेजहरूबारे छलफल हुनेछ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ ।
चौथो पटक प्रधानमन्त्री बनेको एक वर्षपछि ओली भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जाँदैछन् । यसअघि सचिवस्तरीय संयन्त्रको बैठक समेत बसेको छ ।