NRN
भारत पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा एक जना पक्राउ

सिन्धुलीका युवकलाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोको घटना अनुसन्धान गरिरहेको टोलीले घटनामा संलग्न रहेकामध्ये एक जनालाई गएराति काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट घर भएका समीर परियार छन् ।

सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्‍याई बन्धक बनाएर मिर्गौला झिकेर नेपाल ल्याएको आरोप उनलाई पक्राउ गरिएको हाे ।

पोखरामा मजदुरी गरिरहेका भुजेललाई भारतीय नागरिकले  डेढ महिना अघि होटलमा वेटरको काम लगाइदिने भन्दै भारत पुर्‍याएका थिए ।

त्यहाँ उनलाई कार्यालयमा सरसफाइको काम लगाइयो । घर फर्किन खोज्दा बेहोस बनाएर काठमाडौंको कलङ्कीमा ल्याइयो । कम्मरमा दुखाइ र टाँका देखिएपछि अस्पताल पुग्दा उनको बायाँ मिर्गौला निकालिएको पुष्टि भयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो ।

मानव बेचबिखनसम्बन्धी घटना भएका कारण सिन्धुली प्रहरीले बुधबार अनुसन्धान गर्न ब्युरोमा बुझाएको थियो । ब्युरोले आजै विज्ञप्ती जारी गरेर घटनाबारे सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update