
निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’ मा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएकाले समितिले आजै निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा बुझाउने तयारी गरेको हो ।
सोमबार बिहानै सात बजेदेखि समिति बैठक सिंहदरबारस्थित समितिको कार्यालयमा बसिरहेको छ । समिति बैठक आइतबार पनि राति १२ बजेसम्मै बैठक बसेको थियो ।
आइतबार समितिलाई दिइएको समयसिमा सकिए पनि आइतबारकै बैठकको निरन्तरता भनेर सोमबार बिहानदेखि बैठक बसिरहेको छ ।
समितिमा नेपाली कांग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।
समितिका सभापति जीवन परियारले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी रहेको बताएका छन् । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने तय छ ।
कुलिङ पिरियडमा कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म नियुक्ति गर्न नमिल्ने व्यवस्था राखे पनि प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा उक्त विषयमा हेरफेर भएको पाइएको थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले छानबिन समिति बनाएका थिए ।