NRN
मुख्यमन्त्री लामाले भ्याए आजै राजीनामा दिने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।

बिहीबार (हिजो) साँझ काठमाडौँमा आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन् । 

सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । 

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।

एकवर्षभित्र राजीनामा गर्ने गरी लामाले बानियाँसँग सहमति गरेको एक पक्षको दाबी छ । त्यस अनुरूपमा लामाले पद नछोडेपछि अविश्वासको प्रस्ताव ल्याइएको उनीसँग असन्तुष्ट पक्षको भनाइ छ ।

संविधानको १६८ (२) अनुसार मुख्यमन्त्री हुँदा दलको नेता आवश्यक नहुने भन्दै लामाले राजीनामा नदिने अडान लिएका थिए । कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व लामाले गरेका छन् ।

बागमतीमा कांग्रेसभित्र देखिएको अवस्थालाई लिएर बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update