
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा भइरहेको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब यो सुनुवाइ आइतबार हुनेछ ।
चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले आफूहरूलाई थुना भित्र राख्ने जिल्ला अदालतको आदेश बदर गर्नुपर्ने भन्दै निवेदन दिएका हुन् ।
उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट उनीहरूविरूद्ध निवेदन दिएको छ । दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो ।
काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।
दुर्गा प्रसाईंमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो ।