
संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित भएका छन् ।
राष्ट्र संघको इकाईहरूमध्ये महत्त्वपूर्ण मानिने आर्थिक तथा सामाजिक परिषद्मा नेपालको प्रतिनिधित्व गर्दै स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा सन् २०२५–२०२६ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल राष्ट्र संघको इकोसकको अध्यक्ष बनेको यो पहिलो पटक हो ।
थापाले बिहीबार अध्यक्षताको कार्यभार सम्हाल्दै यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । उनका अनुसार यो निर्वाचनले बहुपक्षीयताप्रतिको नेपालको प्रतिबद्धता प्रतिबिम्बित गर्छ ।
संसार बहुआयामिक संकटहरूबाट गुज्रिरहेको उल्लेख गर्दै उनले इकोसकको भूमिका अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण रहेको बताए ।
यसअघि उक्त पद क्यानडाका प्रतिनिधि बब रेले सम्हालेका थिए । रेले थापालाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका छन् ।
यसअघि सन् २०२४–२०२५ का लागि इकोसकमा थापा उपाध्यक्ष थिए । थापा दुई वर्षअघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्यूयोर्क आएका हुन् ।
उनी यसअघि बेल्जियम तथा ईयूका लागि राजदूतको भूमिकामा थिए । नेपालको अध्यक्षमा इकोसकको उपाध्यक्षमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन रिपब्लिक र स्पेन निर्वाचित भएका छन् ।
इकोसक राष्ट्र संघको एक प्रमुख अंग हो, जसले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, मानवअधिकार, वातावरण, महिला सशक्तीकरण र विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने विभाग हो ।
इकोसकले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र संघको विभिन्न निकाय, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजीओहरू) सँग मिलेर विश्वव्यापी विकासका लक्ष्य प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान, तथा अनुगमनको काम गर्दछ ।