
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् । राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रिय सभाको आजको बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडीसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि प्रधानमन्त्री ओलीले सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको छ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
यही विषयमाथिको छलफलमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।