
आज मंगलबार श्रावण शुक्ल पञ्चमीका अवसरमा राजधानीको नागपोखरी लगायत देशका विभिन्न स्थानमा नागहरूको पूजा गरी नाग पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।
गपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरू हुन्छ ।
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गर्न बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ ।
बिहानैदेखि भक्तजनहरू स्नान गरी दीप, कलश, गणेश र नागहरूको पूजा गर्दै नागपोखरीमा दर्शनका लागि पुगेका छन् ।
हिन्दु धार्मिक परम्पराअनुसार आजको दिन घरको मूलद्वारमा नागहरूको तस्बिर टाँसी, गाईको गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरिन्छ ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताए । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।