काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट एक जना पुरूष र महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन् ।प्रहरीले उनीहरूबाट दुई किलो सुन र २४ लाख नगद पनि बरामद गरेको छ ।
पक्राउ परेका दुई जना प्रेमी-प्रेमिका हुन् । पुरूष थान डेढ महिना अघि काठमाडौं आएका थिए । उनकी प्रेमिका केही दिन अघि मात्रै काठमाडौं आएको प्रहरीले जनाएको छ ।
सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ १४:०१
प्रतिक्रिया दिनुहोस्