
सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंक बढेर २८९२ अंकमा कायम भएको छ ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो ।
सबैभन्दा धेरै लघुवित्त, ‘अन्य’, विकास बैंक र बीमा समूहमा सुधार देखियो । यी समूहगत परिसूचकमा १.४० प्रतिशतदेखि २.८० प्रतिशतसम्म वृद्धि भएको छ ।
यसदिन तीन कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको छ । थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो ।
ट्रेड टावर र सान्भि इनर्जी हालै सूचीकृत भएकाले पनि यी कम्पनीको सेयर मूल्य बढ्दो क्रममा छ । त्यस्तै, दोस्रो त्रैमाशमा नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेपनि थ्री स्टारको मूल्य केही दिन यता भने बढ्दो क्रममा छ ।
यस दिन तीन सय ११ धितोपत्र तथा ऋणपत्र लगायतको कारोबार हुँदा एक सय ८० को मूल्य बढेको छ भने एक सय २१ वटाको मूल्य घटेको छ ।
यस दिन पुनर्बीमा कम्पनीहरू नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्सको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ ।
यी कम्पनीको क्रमशः ७५ करोड २५ लाख रूपैयाँदेखि ७५ करोड ६६ लाख रूपैयाँको सेयर किनबेच भएको हो ।