NRN
काठमाडौं महानगरले आगामी आवका लागि ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट ल्याएको छ ।

आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् ।

पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ । 

यही नगरसभा सुरूमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेश गरेकी हुन् । 

काठमाडौं टावर नक्सा पास विवाद सुरू भएयता ६ महिनापछि शुक्रबार मात्रै मेयर बालेनले कार्यपालिका बैठक डाकेका थिए । 

मेयर बालेन आगामी आर्थिक वर्षको बजेट ल्याउन र कार्यपालिका बैठक बोलाउन उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षले मेयर बालेनसँग विभिन्न चरणमा छलफल गर्दै आएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरको नक्सा स्वीकृत गरेपछि मेयर बालेनले उनको उपस्थितिमा कुनै हालतमा बैठक नराख्ने अडान लिएका थिए । जसले गर्दा महानगरको बजेट समयमा आएको थिएन ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update