
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग गरेको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्मा रहेका केहि मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानविन गर्न माग गरेकी हुन् ।
साथै सांसद श्रेष्ठले कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ,जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको विषय बाहिरिएको भन्दै यसको छानविन हुनुपर्ने माग गरिन् ।
‘मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौ नी,’ सांसद श्रेष्ठले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । यसको छानबिनको माग गर्दछौँ ।’
उनले सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो ? कसको ठाउँ हो भनेर प्रश्न गरिन् । ‘अडियोमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खानलाई हो ? कसको तागत, कस्तो संस्कार के फरक भयो यी सबै वर्षहरूमा ? जनताले के पाए ?,’ सांसद श्रेष्ठले भनिन् ।