
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कार्यपालिका बैठक बोलाएका छन् ।
मेयर बालेनले करिब ६ महिनापछि कार्यपालिका बैठक बोलाएका हुन् । बैठक शुक्रबार दिउँसो २ बजे बस्नेछ ।
महिनामा एक पटक बस्नुपर्ने कार्यपालिका बैठक १४ पुस २०८१ यता बस्न सकेको थिएन ।
मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।