
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ ।
यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार सात अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार नौ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब २३ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१२ वटा धितोपत्रको दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच भएको हो ।
बिहीबार १६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ वटाको घटेको छ ।
यसदिन माई खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ८.१५ प्रतिशत र माण्डु हाइड्रोपावरको मूल्य ६.७६ प्रतिशतले बढेको छ ।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.९२ प्रतिशत र राप्ति हाइड्रोको मूल्य ६.४७ प्रतिशतले घटेको छ ।
यसैगरी, बिहीबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको हो ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशतले बढेको छ ।