
काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ पिनथलीस्थित खहरे खोलामा गेग्रानसहितको बाढी आएपछि अवरूद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।
बुधबार बिहानपख लेदोसहितको बाढी आएपछि काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको थियो । लेदो पन्छाएपछि सवारीसाधन सञ्चालनमा आउन थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गत असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्ग क्षतिग्रस्ता बनाएको थियो ।
उक्त सडक खण्डको १३ किलोमिटर भाग कटान नै गरेपछि बनाउन ठेक्का आह्वान भएको छ । अहिले उक्त राजमार्ग अस्थायी तरिकाले सञ्चालन गरिँदै आएकोमा सडक खण्डका खोला, खोल्सीमा भेलबाढी आउनेबित्तिकै गाडीहरूको आउजाउ रोकिने गरेको छ ।
बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै एक महिनाका लागि काभ्रेभञ्जाङ-भकुण्डे हुँदै सिन्धुली जाने यात्रुबाहक सवारी साधनलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म चल्न रोक लगाइएको छ ।
असार २२ गतेदेखि थप एक महिनाका लागि यात्रुबाहक सवारी साधन चल्न रोक लगाइएको हो । सडकको अवस्था भने अझै जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ ।