
रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन् ।
सम्पर्कविहीन हुनेहरूमा तीन जना प्रहरी नौं जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको रसुवा प्रहरीले जनाएको छ । तर अहिलेसम्म सबैको पहिचान खुलाइएको छैन ।
यस्तै, ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रसुवा प्रहरीका अनुसार चिनियाँ क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो ।
बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ ।साथै भन्सार यार्डमा रहेका केही मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।