NRN
डाक्टरको आन्दोलनले अस्पतालमा विरामी अलपत्र

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द छ ।

संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि अलपत्र परेका छन् ।

उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका हुन् । संघले असार २० गतेदेखि नै आन्दोलन अघि बढाएको थियो ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो । त्यसबाट मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलनमा छ ।

यसअघि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा नै ठप्प पारेको हो ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update