NRN
प्रचण्ड  :  संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । 

योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता भएको बताएका हुन् । 

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईँहरूले सङ्घीय निजामती विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।’

अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए । 

सो अवसरमा अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । 

अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वर्ग संघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै, विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update