
विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सत्ता साझेदार नेपाली कांग्रेसको कार्यालय सानेपा पुगेका छन् ।
शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ ।
नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको थियो । शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाए ।
मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए । लगत्तै शिक्षामन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन् ।
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । बैठककै बीचमा मन्त्री पन्त पुगेपछि देउवाले भेट गरिरहेका छन् ।
शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो पारित गर्नुपर्ने थियो । तर, समितिमै विधेयकमा सहमति नजुटेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।
विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएका छन् ।