नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् ।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् ।
‘यो किताब म्याग्दीलाई कुनै अर्थ नभएकाले सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,’ उनले किताब च्यात्दै भनेका थिए ।
अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष गरे ।
अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि पनि प्रश्न गरे ।
उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी पनि गरे ।
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।


