NRN
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो ।

पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।

भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो ।

क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति १० बजेदेखि बिहान ३  बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ ।

यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ। चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ ।

धादिङको मझिमटार र विशालटारमा  झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update