NRN
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने  विषयमा आज परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं.३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं.१ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद गएपछि रिक्त भएको हो । 

यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ । प्रधानमन्त्रीसँगको भेटमा आयुक्तहरु डा.जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

२०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न प्रधानमन्त्रीले आयोगलाई सुझाव दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update