
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन् ।
सभामुख र प्रमुख सचेतकहरूबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताएका हुन् ।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनले बताए । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ ।
उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको उनको भनाइ छ ।
आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने परियारले बताए ।