
आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारहरूले बजेट प्रस्तुत गर्दैछन् ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हुन् । संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने र प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउने प्रावधान व्यवस्था छ ।
सुदूरपश्चिम प्रदेश:
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ को हाराहारीमा नै यस वर्षको बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको सुदूरपश्चिमले यस वर्ष पनि करिब त्यही आकारको बजेट ल्याउनेछ । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
लुम्बिनी प्रदेश:
लुम्बिनी प्रदेश सरकारले करिब ३२ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । जबकि, गत आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनीले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । यस वर्ष बजेटको सिलिङ ३२ अर्ब तोकिएको थियो । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बजेट प्रस्तुतीका लागि बोलाइएको छ ।
बागमती प्रदेश:
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले करिब ६८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बागमतीले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरिनेछ ।
मधेश प्रदेश:
मधेश प्रदेशले गत आर्थिक वर्ष २०८१/८२ मा ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । यस वर्षको बजेटको आकार भने हालसम्म सार्वजनिक भएको छैन ।
कोशी प्रदेश:
कोशी प्रदेशले गत आर्थिक वर्ष २०८१/८२ मा ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
गण्डकी प्रदेश:
गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०८१/८२ मा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था अनुसार प्रदेश सरकारले हरेक वर्षको असार १ गते र स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रदेश संसद र नगर सभामा प्रस्तुत गर्नु पर्ने हुन्छ ।
प्रदेश सरकारले विशेषत संघीय सरकारले दिने अनुदान र चालु वर्षमा हुन सक्ने बचतलाई हेरर बजेटको आकार ठूलो गराउने गरेका छन् ।