
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफु मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चूनौतिलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले भने, “वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रले लामो समयदेखि भनिरहेका समस्या अन्त्य गर्न कानुन संशोधनलगायतका महत्वपूर्ण प्रयास भएका छन् । त्यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय लिएर अघि बढिरहेका छौँ । आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनलाई सरकारले आत्मसात गर्नेछ ।”
आमउपभोक्ताको आम्दानी, रोजगारी, उत्पादन र उत्पादकत्वसहित समग्र राष्ट्रिय आयआर्जन बढाउने सिलसिलामा सरकारले एकपछि अर्को सुधारका कदम अघि बढाएको भन्दै उनले अर्थतन्त्रका क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकार गम्भीर र सजग रहेको बताए ।
वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका प्रयास र सबैजसो परिसूचकमा सकारात्मक प्रगति भएको तथ्यले बताएको अर्थमन्त्री पौडेलको भनाइ थियो ।
निजीक्षेत्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसको आत्मबल र विश्वासलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको जनाउँदै अर्थमन्त्री पौडेलले चेम्बरले दिइएका उचित सुझावलाई आवश्यकताका आधारमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसअवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारबाट निजी क्षेत्रले ठूलो अपेक्षा राखेको बताए ।